काठमाडौं ।
महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा छन् । उनी पछिल्लो समय काठमाडौंको टोखा बस्दै आएका थिए ।प्रहरीका अनुसार, उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषसँग रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउँथे । त्यसक्रममा उनले महिलाको अश्लील सामग्री बनाएर बिक्रीवितरण गर्थे ।
उनका गतिविधिबारे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो ।उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।