पोखरा ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो । यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो ।
त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो ।
अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए ।
७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब ७९ करोड २८ लाख ४० हजार राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ । रोयल्टी बाँडाफाँडबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ , सशर्त अनुदान तर्फ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने अर्थमन्त्री डा. गुरुङ बताए ।
उनका अनुसार समपुरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदान बाट ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुनेछ । प्रदेशकोे राजस्व परिचालनबाट आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ प्राप्त हुने र नपुग सवा २ अर्व २४ करोड ५० लाख ९४ हजार रुपैयाँ चालु आवको बजेटबाट खर्च नभइ सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए । नपुग १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्री डा. गुरुङलेले बताए ।