पोखरा ।
पूर्व कर्मचारीहरुले अवकाशको उमेर ६० वर्ष नै उपयुक्त रहेको र ‘कुलिङ पिरियड’ पनि आवश्यक रहेको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिलाई संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’मा सहमति जुटाउन सकस परिरहेका बेला पूर्व कर्मचारी सेवा परिषद गण्डकीले आयोजना गरेको पूर्व कर्मचारी- पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व कर्मचारीहरुले यस्तो बताएका हुन् ।
प्रस्तावित विधेयकको दफा ८२ (४) मा निजामती सेवाको विशिष्ट वा प्रथम श्रेणीको पदबाट सेवानिवृत्त भएको व्यक्तिले सेवानिवृत्त भएको मितिले दुई वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई काम गर्न नपाउने व्यवस्था छ ।
यही व्यवस्थाको विषयमा समितिमा दलहरुकै बीच कूरा नमिलिरहेको बेला परिषद गण्डीका अध्यक्ष गिरिधारी सुवेदीले पहिले पहिले पनि कर्मचारीको अवकाश उमेर ६० रहेको र अब पनि ६० वर्ष नै बनाउने निर्णय उपयुक्त हुने तर, अबकाश पछिको कुलिङ पिरियड भने दुई वर्ष हुनुपर्ने बताए । ‘अवकाश उमेर पहिले पनि ६० वर्ष थियो, बीचमा ५८ मा झारिएको हो । ६० बनाउँदा नै राम्रो छ । कुलिङ पिरियड पनि राख्नुपर्छ । ६० वर्षमा अवकाश भएपछि २ वर्ष कुलिङ पिरियड राख्दा कुनै नियुक्ति लिंदा उ ६२ वर्ष भइसक्छ अनि ६५ पछि नियुक्ति पनि लिन नपाउँदा ठिकै हुन्छ’ उनले भने ।
पूर्व कर्मचारी विरेन्द्र हमालले कुलिङ पिरियड अनिवार्य रहेको बताए । कुलिङ पिरियड नहुुँदा कर्मचारीबाट अवकाश नपाई सेटिङ मिलाउन लाग्दा सेवाप्रवाह नै प्रभावित बन्न पुगेको उनले टिप्पणी गरे । ‘अवकाश उमेर नपुग्दै नियुक्तीमा सेटिङ मिलाउन ध्यान दिने प्रवृत्ति बढ्यो । पहुँच हुनेले अवकाश हुने केही दिन अगाडि नै राजिनामा दिएर नियुक्ती खान थाले । यसले कर्मचारी प्रशासन नै अस्तव्यस्त हुने अवस्था आयो । त्यसैले कुलिङ पिरियड दुई देखि पाँच वर्ष राख्नुपर्छ’ उनले भने ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीका उपसचिव प्रविण ढकालले परिषद्ले अत्यन्तै प्रभावकारी कामहरु गर्दै आएको भन्दै संस्थागत र व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले पहिले र अहिलेको परिवेश फरक भएको भन्दै त्यसै अनुसार प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कार्यक्रम संयोजक नगेन्द्रराज पौडेल, सदस्य लक्ष्मीपति पोखरेल, सदस्य बाबुराम सापकोटा लगायतले समसामयिक विषयमा बोलेका थिए ।
निवृत्त कर्मचारीलाई सक्रिय बनाउँदै पूर्व कर्मचारी सेवा परिषद् गण्डकी
पूर्व कर्मचारी सेवा परिषद गण्डकीका अध्यक्ष गिरधारी सुवेदीले अवकाशपछि पनि सक्रिय जीवन जिउन, स्वस्थ भइरहन उत्प्रेरित गर्न अनि सरकारी काम छरितो र प्रभावकारी बनाउने जीवनभरको सीप प्रयोग गर्नका लागि संस्थाले प्रेरित गर्दै आएको जानकारी गराएका छन् । जीवनको उर्जाशील समय देश र जनताको सेवामा समर्पण गरेका पूर्व कर्मचारीको शीप र क्षमतालाई सरकार र समाजले उपयोग गर्नुपर्ने उनको भनाई छ ।
उनले सिभिल अस्पतालले पूर्व कर्मचारीलाई उपचारको सेवा दिएपनि त्यो काठमाडौंमा हुँदा देशभर छरिएका पूर्व कर्मचारीलाइ खर्च उमेर लगायतले पहुँच पुर्याउन कठिन भएको बताए । त्यसैले त्यो सुविधा प्रदेश र जिल्ला लेवलका अस्पतालमा प्राप्तीका लागि पहल भइरहेको उनले बताए । अस्पतालहरुसँग समन्वय गरी पूर्व कर्मचारीलाई छुट सुविधाको प्रबन्ध मिलाउनुका साथै विशेषज्ञ चिकित्सको उपस्थितिमा वृहत स्वास्थ्य शिविर गरिएको अध्यक्ष सुवेदीले जानकारी गराए । उनका अनुसार ७५ वर्ष पुगेपछि स्वास्थ्य उपचारवापत पेन्सनमा १० प्रतिशत थप हुने प्रावधान रहेकामा त्यो उमेरहदलाई घटाएर ६८ वा ७० बनाउन पनि परिषद्ले लबिङ गर्दै आएको छ ।
संस्थाले सेवा निवृत्त भएर घरमै रहेका बृद्धबृद्धामा आफूहरुलाई सहज व्यवहारका लागि प्रेरित गर्न बुहारी सम्मान कार्यक्रम थालेको छ । यस वर्ष ३ जना बुहारी सम्मानित भएको र समाजमा यसको सकारात्मक प्रभाव पर्न थालेको अध्यक्ष सुवेदीले जानकारी दिए । त्यसका लागि संस्थापक अध्यक्ष खेमराज पौडेलले दुई लाख रुपैयाँको अक्ष्यकोष खडा गरिदिएका हुन् । यसैगर संस्थाले एक दिन रु १ अभियान सञ्चलन गरेर अनिवार्य गर्नुपर्ने संस्थागत हितको काम गर्दै आएको छ ।
साथै पृथ्वीनारायण क्याम्पसको मानविकी र व्यवस्थापनमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि संस्थाले सम्मान गर्दै आएको छ । पूर्व कर्मचारीका छोराछोरीलाई निजामतीमा आकर्षित गर्न अधिकृतमा उत्तीर्ण भएकाहरुलाई सम्मान गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
अबदेखि सबै तहमा उत्र्तीण हुनेहरुलाई सम्मान गर्ने प्रतिबद्धता उनले जनाए । संस्थाले अनुसन्धानका कामहरु पनि गर्दै आएको छ । अवलोकन भ्रमणका क्रममा होमस्टेको प्रभावकारिताका बारेमा अध्ययन गरेर प्रतिवेदन प्रदेश सरकारलाई बुझाइएको छ । पूर्व कर्मचारी सेवा परिषद गण्डकीमा हाल ६१७ जना पूर्व कर्मचारी आवद्ध छन् ।