काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ सुनेपछि विपक्षी ढलेको टिप्पणी गरेका छन् । नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको बताए । ‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेरपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ उनले भने ।
उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद समेत गरेका छन् । ‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए ।’
प्रधानमन्त्री ओलीले ओलीले सांसदहरूलाई ब्रिफिङ गर्दै अगाडि भने, ‘सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि के भएको हो त्यो बुझ्दिनँ ।’