काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितका समस्याको समाधानतर्फ नगई सरकारले उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । आन्दोलनरत पक्षसंग माओवादी सम्बादमा रहेको उनले खुलाए ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसद्बाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसद्बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए ।
उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुवै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे । ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,’ उनले भने ।