छोटो समय विद्युत सेवा अबरुद्धलाई लोडसेडिङ भन्न मिल्दैन : प्राधिकरण

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल विद्युत प्राधिकरणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ । प्राधिकरणले सोमबार एक विज्ञप्ति जारी गर्र्दैहावाहुरी तथा मौसमी कारणले हुने छोटो समय विद्युत सेवा अबरुद्धलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो । हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक बनाइएको बताएको छ ।

‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांस ठाउँमा आपूति भइसकेको पनि उल्लेख गरेको छ । कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि अनुरोध गरेको छ।

  • २ बैशाख २०८२, मंगलवार ११:०८ प्रकाशित