पोखरा ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाल विद्यार्थी संघका नेताहरुले कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको राजिनामा माग गरेका छन् । सभापति बराल विरुद्ध स्ववियु निर्वाचनमा नेविसंघलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दर्ता गरेको पोखरामा बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत विद्यार्थी नेताहरुले जानकारी गराएका हुन् ।
विद्यार्थी नेताहरुले पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा भएको पराजयको लागि सभापति बराललाई दोषी ठहर गरेका छन् । केन्द्रीय सदस्य राजेन्द्र बरालले सभापति बरालकै कारण पश्चिमाञ्चल इिन्जिनियरिङ अध्ययन संस्थानमा नेविसंघ निर्वाचनमा गएको आरोप लगाए । नेविसंघले सचिव पदमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाएको भए पनि केन्द्रीय सदस्य रेजिना खड्कामार्फत मनोनयनपत्र च्यात्न लगाइएका कारण उपाध्यायको नाम अन्तिम सूचीमा समावेश नभएको विद्यार्थी नेताहरुले सुनाए ।
केन्द्रीय सदस्य नसिब गुरुङल बरालले एमाले(माओवादीसँग मिलेर नेविसंघको अस्तित्व नै संकटमा पार्ने प्रयास गरेको आरोप लगाए । अन्य केन्द्रीय सदस्यहरूले समेत सभापति बरालमाथि स्ववियु निर्वाचनका लागि उठाइएको चन्दा दुरुपयोग गरेको आरोप लगाएका छन्। ‘एकजनाको स्वेच्छाचारी सोचका कारण संगठन कमजोर हुन सक्दैन,’ केन्द्रीय सदस्य अन्जान थापाले भने, ‘उद्योगी व्यवसायी र शुभेच्छुकहरूबाट संकलित रकम सही रूपमा उपयोग नगरी, बरु नेविसंघको विरुद्ध मत माग्न सक्रिय हुनु गम्भीर विषय हो ।’
नेविसंघका कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले अनुशासन समितिसँग बराललाई सात दिनभित्र साधारण सदस्यताबाटै निलम्बन गर्न माग गरेको छ । यदि कारबाही नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका छन् । केन्द्रीय सदस्य संस्कार कोइरालाले कास्की कांग्रेसको सिंगो समितिले नै स्ववियु निर्वाचनमा सकारात्मक भूमिका नखेलेको बताए । ‘हामीले पार्टीले सिंगो कमिटीकै भूमिकामा प्रश्न उठाएका हौं । सभापतिका नाताले कमाण्डिङ उहाँले गर्ने भएका कारण सम्बोधन उहाँलाई गरेका हौं’ उनले भने ।
यता कांग्रेस कास्की सभापति बरालले भने आफूले कुनै गलत नगरेको र चन्दा लगायतका विषय आफूले कुनै अनियमितता गरेको भए कारबाही भाग्न तयार रहेको प्रष्टिकरण दिए ।
स्ववियु निर्वाचनमा नेविसंघ चारै क्याम्पसमा पराजित भएको छ । लामाचौरमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवारले जित हात पारेका छन् ।