काठमाडौं ।
प्रमुख तीन दल्रका शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।
सिंहदरबारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूबीच छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमति जुटेको हो । यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।
‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श भयो । सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो,’ बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले भने ।