विद्यार्थी बोकेको बस दुर्घटना: २७ जना ‘डिस्चार्ज’, अझै १६ घाइतेको उपचार जारी

केन्द्रभाग मिडिया

काठमाडौँको शङ्खरापुर नगरपालिका-५ कात्तिकेस्थित सडकमा बुधबार अपराह्न भएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा घाइते भएका ४३ विद्यार्थीमध्ये २७ जना उपचारपछि आज घर फर्किएका छन्।

उनीहरू उपचारपछि आज घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो।

सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो। उनीहरू तीनै जना विद्यार्थी हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगन्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

अहिले दुई घाइतेको केएमसी अस्पतालमा, नौ जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिसिटी अस्पतालमा, दुई जनाको शिक्षण अस्पताल महाराजगन्जमा, एक जनाको हेल्पिङ हेन्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिए।

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी पनि उनले दिए। रासस

  • १ फाल्गुन २०८१, बिहीबार १४:११ प्रकाशित