बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगे

केन्द्रभाग मिडिया

काठमाडौं ।

बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।

एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तालिका छ । उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् । अब केहीबेरमा राजकुमार दम्पती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दिएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।

भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको गृह स्रोतले जानकारी दिएको छ ।

नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् ।

  • २२ माघ २०८१, मंगलवार १५:०९ प्रकाशित