काठमाडौँ ।
नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् ।
गौतम नेतृत्वको नेकपा एकता अभियानका महासचिव डीवी कार्कीले सिंगो अभियान एमालेमा समाहित हुने पुष्टि गरे ।वामदेव गौतम र प्रधानमन्त्री ओलीबीच छलफल भइरहेको बताइएको छ ।
‘कुराकानी पहिला पनि भइरहेको थियो । आज दुई अध्यक्ष ९केपी ओली र वामदेव गौतम०बिच टेलिफोन सम्पर्कमार्फत कुराकानी गरेर एमालेसँग एकीकरण गर्ने कुराको टुंगो लाग्यो’, कार्कीले भने, ‘एकदुई दिनभित्रै औपचारिक रूपमा एकता हुन्छ ।’
नेता गौतमले एकीकृत समाजवादीसँग गर्ने भनेको एकता प्रक्रियाको च्याप्टर क्लोज भएपछि एमालेसँग एकता गर्न लागेको बताए । ‘
गौतम निकट कार्कीले दुई नेताबिचको कुराकानीमा एमालेको नीति सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमति भएको बताए । गौतमले एमालेमा वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने पनि कार्कीको भनाइ छ ।
‘यसैबिच गौतम नेतृत्वको अभियानका केही नेताहरू अलग्गिएको घोषणा गरेका छन् । आइतबार उपाध्यक्ष महेन्द्र अर्यालसहितले गौतम समूहबाट अल्गिएको घोषणा गरेका हुन् । उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन् ।















