काठमाडौं ।
दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा रहेको ४ सय ५६मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रको संरचनामा क्षति पुुगेपछि विद्युत उत्पादन बन्द भएको छ ।
अविरल वर्षाका कारण माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन समेत बन्द गरिएको हो । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुला गरिएको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्यूसेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत गृह बन्द गर्नु पर्ने छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको थियो ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताए ।













