अपडेट

सोलुखुम्बुमा हिम पहिरो : ३ वटा घर र एउटा होस्टेल बगायो

खराब मौसमका कारण घटनास्थलमा हेलिकप्टर जान सकेन

केन्द्रभाग मिडिया

काठमाडौं ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा गएको हिमपहिरोमा परेर ३ वटा र एउटा छात्रावास बगाएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री)ले ३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिएका छन् । यद्यपि यकिन विवरण भने आउन समय लाग्ने अधिकारीले बताएका छन् ।

उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ। अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य भइरहेको छ।

सदरमुकाम सल्लेरीबाट उक्त घटना घटेको ठाउँ पुग्न पैदल हिँडेर कम्तिमा पनि ४/५ दिन लाग्ने उनले बताइन्।

‘हामी उद्धारका लागि हेलिकप्टर तयार पारेर बसेका छौँ, तर मौसमका कारण हेलिकप्टर पनि पठाउन सकिएको छैन,’ सदरमुकाम सल्लेरीबाट टेलिफोनमा उनले भनिन्।

उनले कुन ठाउँमा पहिरो आएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको बताइन्। ‘ठूलो वर्षा माथि माथि क्षेत्रमा अझै भएकाले कुन ठाउँमा पहिरो गयो भन्ने पनि पत्ता लगाउन सकेका छैनौँ, उनले भनिन्।

उक्त हिमपहिरोपछि आएको बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ।

 

  • ३२ श्रावण २०८१, शुक्रबार १६:०१ प्रकाशित