ढाका ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकै दिन १३५ जनाको ज्यान गएको छ ।
प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड भएको छ। कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।
सञ्चारमाध्यमका अनुसार ढाकाबाहिर सावर र धमराई क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच भएको गोलीबारीमा १८ जनाको ज्यान गएको थियो । अश्रुग्यास र गोली प्रहारबाट अरु ५० जना घाइते भएका छन् । उत्तरा क्षेत्रमा प्रहरी चौकीले प्रदर्शनकारीमाथि गोली चलाउँदा अरु १० जनाको ज्यान गएको थियो । गोली चलेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले प्रहरी चौकी घेरा हालेर आगजनी गरेका थिए । ढाकाका विभिन्न अस्पतालले ७८ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
हबिगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच भएको हिंसात्मक झडपमा ६ जनाको ज्यान गएको छ । यस क्रममा एक सय जना घाइते भए । प्रहरीको गोली लागेर तंगेलमा दुई र धनबारीमा एक जनाको ज्यान गएको थियो । त्यहाँ अरु ४० जना घाइते भएका छन् । लक्ष्मीपुर क्षेत्रमा भएको हिंसामा ११ जनाको ज्यान गयो भने ३५ जना घाइते भएको बताइएको छ । पूर्व युवा नेताको घर अगाडि सात जनाको शव भेटिएको थियो । कुश्तियामा एक किशोर सहित ६ जनाको ज्यान गएको छ । सतखीरामा पनि तीन जनाको ज्यान गएको छ ।
अवामी लिगका महासचिवको होटेलमा आगलागी, आठ जनाको मृत्यु
जेस्सोरमा अवामी लिगका महासचिव शाहीन चक्लादारको होटेलमा आगजनी हुँदा आठ जनाको जलेर ज्यान गएको छ भने ८४ जना घाइते भएका छन् । यसबाहेक चित्तमोरमा एउटा होटेलमा आगजनी भएको छ । खुल्नामा अवामी लिगका अध्यक्ष जीएम मोहसिन रजा, उनका ड्राइभर आलमगीर र निजी सहायक मोफिजुल इस्लामलाई भीडले कुटपिट गरी मारेका छन् ।
पूर्व मेयरलाई जलाएर मारियो
हिंसात्मक प्रदर्शन चर्किरहँदा बरिसालमा पूर्व मेयर तथा अवामी लिगका अध्यक्ष सेर्नियाबत सादिक अब्दुल्लाहको जलाएर हत्या गरिएको छ । यसबाहेक थप दुई जनामा आगो लगाइएको छ । गाजीपुरको सफीपुरमा सीमा रक्षक बंगलादेशी सैनिकले आक्रमणकारीमाथि गोली चलाएको छ । अरु २ जनालाई पनि आगो लगाइएको थियो । प्रदर्शनकारीहरूले अवामी लिग पार्टीका सांसद, मन्त्रीको घरको साथै प्रहरी चौकीमा आगजनी गरेका छन् ।