पोखरा २७ दिपाङ्ग तालमा फसेका एकै परिवारका चार जनाको सकुशल उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित दिपाङ्ग तालमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरको छ ।

हिजो रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुबानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको हो ।

गुल्मी स्थायी भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका बर्ष ५४ का राम बहादुर अधिकारी, वर्ष ३९ की सिर्र्जना अधिकारी, वर्ष ६ का आयुष अधिकारी र वर्ष ४ की आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए । स्थानीयहरुको सूचनाका आधारमा आज विहान ८ बजे उनीहरुको उद्धार भएको हो ।

त्यसै गरि आजै (असार २६ गते) विहान ४ बजे पोखरा २७ सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर माथिबाट पहिरो खसी घर कोठा पुरिन जादा वर्ष ५० की कमला थापालाई डाडाकोनाक प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका थिए । उनका २२ वर्षीय छोरा भिम बहादुर थापालाई सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले विहान करिव ७ बजे मृत अवस्थामा उद्धार गरेको थियो।

  • २६ असार २०८१, बुधबार १४:१६ प्रकाशित