ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

केन्द्रभाग मिडिया

गलकोट ।

वैधानिक रूपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो ।

अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए ।

सूचना अधिकारी अधिकारीका अनुसार विदेशी सिकारीले नाउर सिकारका लागि प्रतिस्पर्धाका आधारमा रु २१ लाख राजस्व बुझाएको र एक झारल लागि अधिकतम रु १८ लाख राजस्व बुझाएका थिए । उनले भने, ‘दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले अनुमति पाएका थिए ।’

यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी छनोट भएका थिए । सिकारीहरू बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि सिकार खेल्न सुरु गरेका थिए ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिएका आरक्षका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मङ्सिरमा आठ नाउर, चार झारल र आठ बनेलको सिकार गरिएको थियो । सिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर)पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।

  • १० जेष्ठ २०८१, बिहीबार १३:५३ प्रकाशित