म्याग्दीका किसानले सुन्तला बेचेर २१ करोड भित्र्याए

केन्द्रभाग मिडिया

म्याग्दी ।

म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रूपैयाँभन्दा बढी रकम भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।

म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि रु ६० रुपैयाँका दरले बिक्री भएको छ ।

बेनी नगरपालिकाबाट सबैभन्दा बढी तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।

धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार तथा रघुगङ्गाबाट २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताए । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाखको सुन्तला निकासी भएको छ ।

बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए ।

म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए ।

  • २० बैशाख २०८१, बिहीबार १६:१२ प्रकाशित