चीनमा भारी वर्षा : ३४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

बेइजिङ ।

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक हिस्सा भत्किएको छ ।

दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो । जसमा सडकको एउटा लेनको १८ मिटरसम्मको भूभाग खसेको थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार २० सवारी साधन तल झरेका थिए । घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।

राजमार्ग बन्द

दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गले क्वाङ्तोङलाई फुचियान प्रान्तसँग जोड्छ । चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ र देशका अधिकांश राजमार्गहरू टोल फ्री छन् । यसका कारण सवारीसाधन बढी दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

  • २० बैशाख २०८१, बिहीबार १०:५३ प्रकाशित