तुवाँलोको कारण बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमान स्थल आजबाट खुलेको छ ।

बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ४ दिनदेखि बन्द रहेको थियो । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका हुन् ।

‘विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए,’ सूचना अधिकारी कर्णले भने ।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

  • २० बैशाख २०८१, बिहीबार १०:३९ प्रकाशित