पोखराको चाउथेमा एक बिजुली पसलमा आगलागी, झण्डै करोडको क्षति

केन्द्रभाग मिडिया

पोखरा । पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति झण्डै १० बजेतिर भएको आगलागीबाट १ करोड हाराहारीको क्षति भएको प्रहरीले जनाएको छ ।

साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका छन् । आधा घण्टामा आगो नियन्त्रणमा आए पनि क्षति भने बढी भएको सञ्चालक ध्रुव मरासिनीले बताए ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए।

  • २० बैशाख २०८१, बिहीबार ०९:०५ प्रकाशित