सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि जिसस कास्कीको समन्वय बैठक

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त जिल्ला कार्यान्वयनका लागि कास्की जिल्ला स्तरीय समन्वय बैठक एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाहरूको सामुहिक प्रयासले मात्रै सम्भव हुने बताइन्

मालले अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रित मानव नहुने गरि ऊनीहरूको उद्धार , पुनर्स्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन स्थानीय तहहरूलार्इ आग्रह गरिन्।

गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहनु भएका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गण्डकी प्रदेश सरकारले नै बि स २०८२ भित्र सडक मानव मुक्त प्रदेश कार्यक्रम घोषणा गरिसकेको अवस्थामा सो को प्रभावकारी कार्यान्वयनका लागि आफुहरू हातेमालो गर्दै आवश्यक नीति निर्माण गरेर आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन् ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले सडक मानवमुक्त पालिका निर्माणका लागि आफ्नो पालिका प्रतिवद्धताका साथ लाग्ने उल्लेख गरे ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले हरेक नागरिकहरूको मानव अधिकारको पुर्ण प्रत्याभूति सहितको जिल्लाका लागि आफ्नो पालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने उल्लेख गरे । अधिकारीले विभिन्न कारणले सडक आश्रित हुन बाध्य नागरिकको उद्धार ,उपचार र स्थापनाका लागि प्रभावकारी रूपले लाग्नु पर्ने उल्लेख गरे ।

मानव सेवा आश्रम पोखराका कार्यक्रम प्रमुख सदिस पुनले गण्डकी प्रदेशमा सडक आश्रित मानवको अवस्था , उद्दारमा भएका कार्यहरू सहित मानव अधिकारको क्षेत्रमा नागरिकले पाउनु पर्ने संबैधानिक तथा कानुनी व्यवस्थाको बारेमा चर्चा गरे ।

कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख ,उप प्रमुख, कार्यकारी अधिकृत ,जिससका सदस्यहरू सहित सरोकारवाला सरकारी निकायहरूको उपस्थिति रहेको जिसस कास्कीका निमित्त कार्यालय प्रमुख सरोज आचार्यले जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता मालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य राजु अधिकारीले गरेका थिए भने सञ्चालन रामजी प्रसाद लम्सालले गरेका थिए ।

  • १८ बैशाख २०८१, मंगलवार १५:२४ प्रकाशित