भक्तपुरमा गुडिरहेको कारको पछाडि स्कुटर ठोक्किँदा २३ वर्षीय युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भक्तपुरको सूर्यबिनायकमा गुडिरहेको कारको पछाडि तीव्र गतिको स्कुटर ठोक्किँदा २३ वर्षीय युवकको ज्यान गएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले दिएको जानकारी अनुसार सोमबार दिउँसो सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा जगातीबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१-०३० चं ०९९५ नम्बरको कारको पछाडि बा ७३ प २८३६ नं को स्कुटर ठोक्किएको थियो।

सो दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार चालक रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल काठमाडौँको माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको ज्यान गएको हो।

उनको उपचारको क्रममा सोमबार साँझ मध्यपुरठिमी अस्पतालमा ज्यान गएको कार्कीले जानकारी दिए।स्कुटरमा पछाडि सवार २३ वर्षीय राज तामाङ दुर्घटनामा घाइते भएका छन्। उनको मध्यपुरठिमी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि कार चालक सुनसरी धरान उप९महानगरपालिका –१३ घर भई हाल कलंकी बस्ने ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरी वृत्त जगातीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्कीले बताए।

  • १८ बैशाख २०८१, मंगलवार ११:०३ प्रकाशित