उद्यमशीलता तथा वित्तिय साक्षरता सम्बन्धी सात दिने तालिम शुरु

केन्द्रभाग मिडिया

पोखरा ।

नगर युवा परिषद पोखरा महानगरपालिकाको आयोजनामा उद्यमशीलता तथा वित्तिय साक्षरता सम्बन्धी सात दिने तालिम शुरु भएको छ । राष्ट्रिय युवा परिषदको सहकार्यमा सहुलियतपूर्ण कर्जा सहजीकरण प्रायोजनका लागि आयोजना गरिएको उक्त तालिमको उद्घाटन गर्दै पोखरा महानगरका प्रवक्ता मोतीराज तिमिल्सीनाले मुलुक आर्थिक अन्यौलताका कारण अफ्ठेरो अवस्थामा परिरहेको र युवाहरु विभिन्न उद्देश्यका साथ विदेश पलायन भइरहेको चुनौतीपूर्ण अवस्थामा यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने वताए ।

पछिल्लो समय युवाहरु सकारात्मक भन्दापनि आलोचनात्मक बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाउदै तिमिसीनाले कुनैपनि अफ्ठ्यारा समस्याहरुलाई सबै मिलेर सकारात्मक सोंचका साथ सामना गर्न सके सफल हुने वताए ।
पोखरा महानगरको आयोजनामा रोजगार प्रदान गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरेको भएतापनि रोजगारको खोजीमा महानगरले अपेक्षा गरेअनुसारले सहभागीता जनाउन नसकेको वताउदै प्रवक्ता तिमिल्सीनाले सामाजिक सञ्जालमा मात्रै नकारात्मकतामा सिमित हुनेहरु हावी भएको समेत आरोप लगाए । उनले भने सामाजिक सञ्जालमा सरकारले केही गरेन भनेर हौवा फिजाउने काम गरिन्छ तर महानगर या प्रदेश सरकारले रोजगार दिन्छौ भनेर मेला गर्दा त्यसमा सहभागीता जनाउदैनौ । यसरी हेर्दा समाज नकारात्मकता तर्फ अग्रसर भएको प्रश्ट देखिएको छ ।

त्यसैगरी पोखरा महानगरले ब्यवशाय प्रवद्र्धन केन्द्रबाट समेत विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको वताउदै त्यसमा समेत महानगरबासीले चासो दिनुपर्नेमा जोड दिए । तालिम तालिममा मात्र सिमित नभइ सार्थकता उन्मुख भइ उपलब्धिमुकलक हुनुपर्नेमा उनको जोड रहेको थियो । त्यसैगरी शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले नेपालको पाठ्यक्रम समयक्रम अनुसार परिमार्जन हुन नसक्दा कैयौ युवाहरु विदेसिनु परेको वताए । १० वर्षमा एक पटक पाठ्यक्रम परिमार्जन गरिदै आएको र त्यसले गर्दा पनि युवाहरुले बढी मात्रामा सैद्धान्तिक अध्ययनमा सिमित भएकै कारण पनि युवाहरु विदेसिनु परेको बताउदै आचार्यले सीप सम्बन्धी अध्ययन गराउनु अहिलेको आवश्यक्ता भएको समेत बताए ।

तालिमका प्रशिक्षक श्यामकाजी खत्रीले उद्यमशीलता बिकास नै अहिलेको आवश्यक्ता रहेको वताए । रोजगार भएर जागिर खाँदा एकजना मात्रै रोजगारी हुने र उद्यमशीलता हुँदा उद्यम संगै रोजगार दिन सक्ने भएकाले यसलाई सरकारी निकायले जोड दिएको भएतापनि यसले सार्थकता पाउन नसकेको उनको भनाइ रहेको थियो । नगर युवा परिषद पोखरा महानगरपालिकाका उपाध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठ लगायतले वोलेका थिएभने कार्यक्रममा विष्णुमाया सुवेदीले स्वागत मन्तब्य राखेकी थिइन । सात दिन सम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागीता रहने छभने तालिममा राष्ट्रिय युवा परिषदका सदस्यहरु श्यामकाजी खत्री र सजिना थापाले सहजीकरण गर्नेछन ।

  • १६ बैशाख २०८१, आईतवार १९:१० प्रकाशित