हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मृति सभा

केन्द्रभाग मिडिया

पोखरा

हेमजा साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गरी प्राध्यापक चूडामणि खनालको स्मृति सभा सम्पन्न गरेको छ ।

२००९ वैशाख १५ गते खगराज र पशुपतिनाथ खनालका सुपुत्र मानहूँ, तनहुँमा जन्मेका चूडामणि खनालको ७१ वर्षको उमेरमा २०८० वैशाख ३१ गते निधन भएको थियो ।

प्रतिष्ठानले खनालको जन्मजयन्ती सन्दर्भमा स्मृति सभासहित माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा अम्बिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले एउटा गुरुको स्मरणमा विद्यार्थी भाइबहिनीलाई चेतना छर्दै नेतृत्व विकास कार्यशाला आयोजना गरेकोमा प्रतिष्ठानलाई आभार व्यक्त गरे ।

खनालको व्यक्तित्व चर्चा गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेर सेवा निवृत्त खनाल २०२४ सालदेखि साहित्य लेखनमा लागेको पौडेलले जानकारी गराए ।

‘वसन्तविरोध’ शीर्षकको रचनाबाट नेपाली साहित्यमा प्रवेश गरेका खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’ ‘प्रमुख अतिथि’, ‘पोखराज’ ‘खिनौरी सहर पसेपछि’ लगायतका झण्डै आधादर्जन साहित्यिक कृति र दुई सय फुटकर निबन्ध प्रकाशित भएको जानकारी गराउँदै पौडेलले खनाललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव असफल गौतमले नेपाली वाङ्मयको श्रीवृद्धिमा लाग्छौं भन्नेहरू नै कुण्ठापूर्ण जीवन बाँच्न रुचाउँदा अग्रजको योेगदान ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका परशुराम अधिकारीले अग्रजले देखाएको बाटो पछ्याउँदै प्रतिष्ठान अगाडि बढ्ने क्रममा रजत वर्षलाई साच्चै पृथक बनाउन कार्यसमिति क्रियाशील रहेको बताए । कार्यक्रममा सिर्जना साहित्य सदनका संरक्षक भानुभक्त अविरल, संस्कृत युवा मञ्च नेपालका सचिव दिवाकर पौडेल, लघुकथा प्रतिष्ठानका सदस्य विष्णु बास्तोला, लोकदोहोरी गायक सुरेशरमण अधिकारीलगायतले बोलेका थिए ।
सोही सन्दर्भमा प्रतिष्ठानले रजत जयन्ती १९ औं विशेष कार्यक्रम माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशालासमेत सम्पन्न गरेको छ । कार्यशालामा ३३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले नेपाली हास्यव्यङ्ग्य साहित्यमा चूडामणि खनालको योगदानको उचित कदर हुन आवश्यक रहेको धारणा राखे । उनले, प्रतिष्ठान अग्रज स्रष्टाको स्मरण गर्दै नवपुस्तासँग हातेमालो गरेर अगाडि बढ्ने क्रममा विभिन्न संघसंस्था र विद्यालयले सहकार्य गरी अगाडि बढ्न हौसला दिएकामा आभारसमेत व्यक्त गरे ।

  • १६ बैशाख २०८१, आईतवार १६:५२ प्रकाशित