गण्डकी र मधेश प्रदेशका सभामुखद्धारा महेन्द्र गुफा अवलोकन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् ।

गण्डकी प्रदेश सभाको निमन्त्रणामा यस क्षेत्रको भ्रमणमा रहनुभएका सभामुख मण्डल सहितको टोलिले आईतवार गुफा भ्रमण गरेको हो । गुफाको अवलोकन गर्दै सभामुख मण्डलले पोखरा सुन्दरताको खानी भएको वताउँदै, प्राकृतिक गुफालाई यसको प्राचिनता नमेटिने गरी संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले गुफाको आर्कषणले आफुलाई लोभ्याएको प्रसगं निकाल्दै, प्रकृतिको सौन्र्दयतालाई मानव जातिले आत्मवोध गर्नुपर्ने वताए । गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले गुफा परिसरमा निर्माणाधिन संरचनाले यसको थप आर्कषण बढ्ने विश्वास व्यक्त गरे । उपसभामुख विना कुमारी थापाले गुफा अवलोकन गर्न पाएकोमा आफु निकै खुशी भएको स्मरण गर्दै, महेन्द्र गुफा विविधतायुक्त रहेको वताए ।

टोलिले महेन्द्र गुफा सौन्दर्यकरणका विषयमा चासो राखेको थियो । टोलिलाई महेन्द्र गुफा र निर्माणधिन परियोजनाका विषयमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका सदस्य सचिव शिशिर पौडेलले जानकारी गराए ।सदस्य सचिव पौडेलले महेन्द्र गुफा र चमेरे गुफाको थप विकास तथा सौन्दर्यकरणका लागि गण्डकी प्रदेश सभाका सभामुख धिताल र उपसभामुख थापासँग पनि आग्रह गरे।

यसअघि गण्डकी प्रदेश सभाका सभामुख धिताल, मधेश प्रदेशका सभामुख मण्डल सहितको टोलिलाई समितिका सदस्य सचिव पौडेलले स्वागत गरेका थिए ।

  • १६ बैशाख २०८१, आईतवार १६:२४ प्रकाशित