इलाममा बिहान ११ बजे र बझाङमा दिउँसो देखि मतगणना हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

इलाम र बझाङमा भएको उपनिर्वाचनमा मत गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर मात्र संकलन गरेर सदमुकाम ल्याइएको हो । अहिले बिहान सर्वदलीय बैठक बसेर निर्णयअनुसार मतगणना शुरु गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकको तयारी भएको जानकारी दिए । उनका अनुसार सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी छ ।

इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणना हुनेछ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतपेटिका उच्च सुरक्षा साथ राखिएको छ । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ हिजो भएको उपचुनावमा ६० प्रतिशत मत खसेको छ ।

संविधान सभाका अध्यक्ष एवं एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । उनका छोरा सुहाङ नेम्वाङ एमाले उम्मेदवार हुन् भने कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी प्रदेशसभा सदस्यका लागि बझाङ–१ (क) मा जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा ल्याइएको छ ।

साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आज बिहान हेलिकोप्टरमार्फत् ढुवानी गरिँदैछ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि सर्वदलिय बैठक बसेर दिउँसोदेखि गणना शुरु गर्ने तयारी छ ।

बझाङ–१ (क) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो  । त्यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन् भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।

  • १६ बैशाख २०८१, आईतवार ०८:१४ प्रकाशित