पोखरामा मितिनी नेपालले मनायो समलैंगिक दृश्यता दिवस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पोखरामा समलैंगिक दृश्यता दिवस मनाइएको छ । मितिनी नेपालको आयोजनामा गण्डकी प्रदेशको पोखरामा दिवसको अवसरमा र्यालीको आयोजना गरिएको हो ।

र्याली पोखराको लेकसाईड स्ट्रिट–२ बाट सुरु भई वाराही चोकमा कोणसभामा परिणत भएको थियो । र्यालीमा विभिन्न प्रदेशका समलिङ्गी, द्धयलिंगी र क्वेर महिलाहरूका साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थिति थियो ।

Lesbian Rights are Human Rights  ‘समलिङ्गी महिला पर्खँदैन, अधिकार नलिई फर्कँदैन,’ समलिङ्गी महिलामाथि हुने हिंसा अन्त्य गरौँ,  ‘Love has no gender, Love is Love,’जस्ता नाराहरू लगाइएको थियो ।

र्यालीलाई सम्बोधन गर्दै समलिङ्गी ज्येष्ठ महिला सुकमाया मगर र समुदायबाट कुसुम सुनुवार र कविता तामाङले समलिङ्गी महिला पनि महिला भित्रको विविधता भएको बताउँदै समलिङ्गी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्ने बताएका थिए ।

पोखरा महानगरपालिका, सामाजिक विकास शाखाकी विष्णुमाया पौडेलले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताइन् । आगामी नीति तथा कार्यक्रमहरू बनाउँदा, बजेट विनियोजनमा समुदायको सुझाव र सहयोग आवश्यक रहेको बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले समुदायको मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि आयोग सदैव तयार रहेको बताए ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समुदायले विभिन्न किसिमको उत्सव मनाई रहँदा समलैंगिक दृश्यता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

  • १४ बैशाख २०८१, शुक्रबार १६:०२ प्रकाशित