उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चल्न दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१)मा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सञ्चालन गर्न दिइन्थ्यो । तर उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले भने, ‘यसअघिका चुनावहरुमा सार्वजनिक सवारीका साधन निर्वाध सन्चालन गर्न पाइँदैनथ्यो, यसपटक भने चलाउन दिने निर्णय गरेका छौं ।’

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको उनले बताए ।

  • १४ बैशाख २०८१, शुक्रबार १५:५१ प्रकाशित