गुप्तेश्वर क्याम्पसमा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने यस प्रतियोगिता एमबिएस विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीराम सुवेदीले पोखरामा पहिलो पटक एमबिएस विद्यार्थीहरुलाई लक्षित गरी केससँग सम्बन्धित प्रतियोगिता निकै उपयोगी हुने बताए ।

गुप्तेश्वर क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा र आसपासमा रहेका क्याम्पस बिचको सम्बन्धलाई सुमधुर सँगै ज्ञान आदान प्रदान गर्नु नै यस प्रतियोगिताको मुल उद्धेश्य रहेको बताए ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन एवं क्युएए प्राप्त यस क्याम्पसले गुणस्तरीय शिक्षामा सँगै यस्ता क्रियाकलापको संचालनमा जोड दिदै आएको उनको भनाइ रहेको थियो ।

सोही अवसरमा बोल्दै आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले सामुदायिक क्याम्पस सिमित साधन श्रोतबाट संचालित भएपनि यसको प्रभावकारिता भने उल्लेखनिय रहेको बताए ।सरकारबाट यस क्षेत्रमा बजेटको ५ प्रतिशत मात्र खर्च आउने गरेको बताउदै उनले यस क्याम्पसले आन्तरिक क्रियाकलापमा बाहिरी क्याम्पसलाई पनि जोड्नु प्रशंसनीय काम भएको समेत बताए ।

त्यस्तै पृथ्वीनारायण क्याम्पसका व्यवस्थापन संकायका सहायक प्रमुख ध्रुव बुढाथोकीले क्षमता अभिवद्धिका निम्ति अध्यापनमा सिप सिक्ने प्रविधिको बिकास गर्न आवश्यक रहेको बताउदै गुणस्तरीयतामा सबैको विश्वास हुने हुँदा बजारले खोज्ने जनशक्ति हुन जरुरी रहेको बताए ।

प्रतियोगितामा बिहिबार विद्यार्थीलाई पोखरा विश्वविद्यालयका विशेषज्ञ प्रा.डा उमेश सिहं यादवले तयार पारेको केस उपलब्ध गराइएको आएक्युएसि प्रमुख एवं कार्यक्रम संयोजक राजकुमार सुवेदीले जानकारी दिए । हरेक क्याम्पसबाट ३÷३ जना प्रतिस्पर्धी एवं क्याम्पस प्रतिनिधि सहित ६ टिमको सहभागीता रहेको छ ।

जसमा गुप्तेश्वर क्याम्पसबाट २ र अन्य जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसबाट १÷१ जना टिमको सहभागिता रहेको छ ।उपलब्ध गराइएको केसको प्रतियोगीहरुले १ घण्टामा घटनाको निदान गरेका थिए । सोही घटनाको निदानलाई हुबहु भोली शुक्रबार विशेषज्ञ प्रा.डा यादव माझ प्रस्तुतीकरण गर्ने संयोजक सुवेदीले जानकारी दिए । सोही घटना निदान र प्रस्तुतीकरणको आधारमा विजयी घोषणा हुनेछ ।

विजयी हुने क्याम्पसले ५ हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४ हजार, ३ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सहभागि हुने सम्पूर्ण प्रतियोगिलाई सहभागिताको प्रमाण–पत्र प्रदान गरिने छ ।

 

  • १३ बैशाख २०८१, बिहीबार २१:३६ प्रकाशित