पटनाको होटलमा आगलागी, ६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको ज्यान गएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेमा तीन महिला र तीन पुरुष रहेका छन् । पटना स्टेशन नजिकै रहेको पाल होटल कम रेष्टुरेन्टमा आगलागीको कारण सिलिन्डर विस्फोट भएको बताइएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा ज्यान गएको हो।

पटना स्टेसन नजिकै रहेको पाल होटलमा लागेको आगोलाई नियन्त्रणमा लिन दमकल टोलीले निकै मेहनत गर्नुपरेको थियो । आगो निभाउन दमकलका धेरै गाडीलाई घण्टौँ समय लागेको थियो । घटनालगत्तै अग्नि नियन्त्रण विभागकी डीजी शोभा अहोटकर पनि घटनास्थल पुगेकी थिइन् । आसपासका क्षेत्रमा तीव्र हावा चलिरहेको थियो ।

आगलागी आसपासका क्षेत्रमा फैलिन नदिन सावधानीका रूपमा बिजुली काटिएको थियो । होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरी बाहिर निकालिएको छ भने ३८ जनाको पटनाको पीएमसीएच उपचार भइरहेको बताइएको छ ।

  • १३ बैशाख २०८१, बिहीबार १६:२५ प्रकाशित