दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

बेरोजगार २४५ जनालाई रोजगार, एक हजार ८१० जनालाई अवसर

केन्द्रभाग मिडिया

पोखरा ।
बेरोजगार २४५ जनालाई रोजगारी दिँदै र एक हजार ८१० जनलाई रोजगारीको अबसर दिँदै पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेलाको बुधबार गण्डकी प्रदेका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार एक समारोहका बीच समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल आमाले अहिले देशमै बसेर यहि देशलाई समृद्ध बनाऊ भनेर पुकार गरिरहेको बताए । ‘देश युवाविहीन् बन्दैछ,उनले भने,‘नेपाल आमा पुकार गरिरहेकी छिन्, ए छोराछोरी हो तिमीहरु देशमै बस, मलाई खनिखोस्री गर, यहि देशलाई सम्पन्न र समृद्ध बनाऊ, तिमी पलायन नहोऊ भनिरहेकी छन् ।’ उनले अनेक प्रकारका रोजगारीको सिर्जना गरेर देशलाई समृद्ध बनाउन सकिने दाबी गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको सम्भावनाको खोजी गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरिएको र त्यस उद्देश्यमा मेला सफल भएको बताए । उनले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने मेलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । अगामी वर्षमा रोजगार मेलालाई थप व्यवस्थित बनाइने भन्दै उनले प्रदेश सरकार र पोखरा महानगरले बजेटमा एक रुपता ल्याउँदै रोजगारी बृद्धि र विकासमा सहकार्य गर्न जरुरी रहेको बताए । उनले बजेट ल्याउने बेला समेत आवश्यकताका बारेमा छलफल गर्न जरुरी रहेको सुनाए ।

मेलामा रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाका व्यवसाय प्रवद्र्धन केन्द्रका १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयका १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका ८० जना र आर्थिक विकास महाशाखाका ४७ जनालाई रोजगारी दिइएको जनाइएको छ । रोजगारी दिइएकामध्ये बालविकास सहजकर्ता प्रविना शाही, प्लम्वर विनय अधिकारी, जेटीजेटीए दीपेन्द्र आचार्य, ईलेक्ट्रिसियन कृष्ण थापा मगर र तथ्याङ्क संकलक रंगिला बास्तोलालाई बुधबार आयोजित मेला समापन समारोहमा नै नियुक्ती पत्र प्रदान गरिएको छ ।

त्यस्तै, गण्डकी बहुप्राविधिक शिक्षालयबाट रोजगारी पाएका १०५ जनामध्ये सिभिल ईञ्जिनियर समीक्षा चापागाई र अटोमोवाइलतर्फका दर्शन बराल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका ८० जनामध्ये पार्वती नेपाली र आर्थिक विकास महाशाखाबाट रोजगारी पाएका ४७ जनामध्ये  कृषि गणक सुन्दर बराल र रेणु रेग्मी तिमिल्सिनालाईपनि बुधबारै नियुक्ती पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरुलाई नियुक्ती पत्र प्रदान गरेका हुन् । कार्यक्रममा अनुपस्थित अन्य रोजगार पाएकाहरुलाई भने सम्बन्धित कार्यालयबाटै नियुक्ती पत्र प्रदान गर्ने व्यवस्था मिलाइएको मेलाका प्रचारप्रसार उपसमिति संयोजक तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।

मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने भन्दै उद्यमीले फारम उपलब्ध गराएका थिए । तर उत्साहजनक रुपमा रोजगार खोज्न आउनेहरु भने नआएको सचिव आचार्यले बताए । उनका अनुसार मेलामा निशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका छन् । उनले भने, रोजगार दाता भन्दा रोजगारी खोज्नेको संख्या कम देखियो ।’

तीन दिनसम्म चलेको मेलाको पहिलो दिन ‘उद्यमशिलता रोजगारी र शिक्षा’, दोश्रो दिन स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक निजी क्षेत्रबीच सहकार्य’ र ‘आन्तरिक श्रम बजार, अवसर र चुनौति’ तथा अन्तिम दिन बुधबार ‘व्यवसाय विकास र लगानीको वातावरण’ विषयमा प्यानल डिस्कसन भएको थियो ।

त्यसबाहेक मेलामा ‘एमए चियावाली’ नामक नाटक मञ्चन, सफल उद्यमीको कथा अन्तर्गत पर्यटन व्यवसायी लक्की कार्कीकाे कथा सुनाउनुका साथै आँट, हिम्मत र जाँगर भए नेपालमै भविष्य छ भन्नेबारेमा उत्प्रेरणात्मक प्रवचन दिइएको थियो ।

 

  • १२ बैशाख २०८१, बुधबार २०:३५ प्रकाशित