तराईमा तातो हावा : ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।

‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा। विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे ।

‘धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने गर्दछ,’ उनले भने, ‘शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटमा समेत असर गर्दछ ।’

‘लू’ बाट जोगिन के गर्ने ?

– धेरै पानी पिउने,

-बाहिर निस्किनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने,

– हल्का खालको कपडा वा सुतीको कपडा लगाउने,

– खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने,

-चिसो पानीले नुहाउने,

-कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने,

-फलफूल, काँक्रालगायत घरमा बनाएको ताजा खाना खाने,

के नगर्ने ?

– दिउँसो सकभर घर बाहिर ननिस्कने

-भान्सामा धेरै समय नबस्ने

-मदिरा सेवन नगर्ने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने

  • १२ बैशाख २०८१, बुधबार १६:४२ प्रकाशित