इरानविरुद्ध इजरायलले गर्‍यो जवाफी कारबाही

केन्द्रभाग मिडिया

जेरुसेलम ।

इरानविरुद्ध इजरायलले जवाफी कारबाही गरेको छ ।

केही दिन अघि इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सोको जवाफी कारबाही गर्दै इरानमाथि इजरायलले मिसाइल हमला गरेको हो। अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हुन् ।

इरानको विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको छ । इरानको फारस न्युज एजेन्सीले पनि इरानी सहर इसफानको विमानस्थलमा विस्फोटको आवाज सुनिएको दाबी गरेको छ । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन । इरानका धेरै आणविक केन्द्रहरू इसफान प्रान्तमा छन् ।

इरानको युरेनियम संवर्धनको मुख्य केन्द्र पनि यहीँ सहरमा छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानको हवाई क्षेत्रमा धेरै उडानको रुट परिवर्तन गरिएको छ ।

गएको शनिबार इरानले इजरायलमाथि ३०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर यी मिसाइल र ड्रोनले इजरायलको वायु सुरक्षालाई पार गर्न सकेनन् । अप्रिल १ मा दमास्कसस्थित इरानको दूतावासमा हमला भएको थियो । यस हमलामा इरानको सेनाका दुई शीर्ष कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।

  • ७ बैशाख २०८१, शुक्रबार १५:५१ प्रकाशित