भारतमा लोकसभाको निर्वाचन सुरु

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ । शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको छ । मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा अरुणाचल प्रदेश (६० सिट) र सिक्किम (३२ सिट)मा पनि विधानसभा चुनाव हुँदै छ । कुल संसदीय क्षेत्रको १९ प्रतिशत सिटमा मतदान भइरहेको छ । शुक्रबार सुरु भएको निर्वाचन ४४ दिनसम्म अर्थात् जुन १ सम्म चल्नेछ । चार जुनमा नतिजा घोषणा हुनेछ ।

दक्षिण भारतीय अभिनेता रजनीकान्तले तमिलनाडुको चेन्नईमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । लोकसभा चुनावको लागि जारी मतदान बीचमा पश्चिम बंगालको चन्दमारी, कुचबिहारमा मतदान केन्द्रको अगाडि ढुङ्गा हानाहान भएको छ ।

चन्दमारीमा मतदाताहरूलाई रोक्न टीएमसी कार्यकर्ताहरूले ढुङ्गा हानेको आरोप बीजेपीले आरोप लगाएको छ । यस घटनामा भाजपाका पोलिंग एजेन्ट घाइते भएका छन् ।

यस चरणका प्रमुख उम्मेद्वारहरूमा केन्द्रीय मन्त्रीहरू नितिन गडकरी, सर्वानन्द सोनोवाल र भूपेन्द्र यादव, कांग्रेसका गौरव गोगोई, र डीएमकेका कनिमोझी छन् । १ लाख ८७ हजार मतदान केन्द्रमा निर्वाचन आयोगले १८ लाखभन्दा बढी मतदान कर्मचारी परिचालन गरेको छ ।

यी मतदान केन्द्रहरूमा १६ करोड ६३ लाखभन्दा बढी मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

  • ७ बैशाख २०८१, शुक्रबार १०:३७ प्रकाशित