दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा

केन्द्रभाग मिडिया

तनहुँ।

सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।

शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा विस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवा विस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने अस्पतालले विश्वास लिएको छ ।

कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने गरी सेवा लिन सक्ने छन् ।

  • ६ बैशाख २०८१, बिहीबार १७:०८ प्रकाशित