आलु महोत्सवमा बाली तथा पशु स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे ।

त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका निदान बारे विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया भयो । त्यस क्रममा अधिकाशं पशुको गोवरमा माटे, नाम्ले, गोलो जुका लगायतका परजीविका अण्डाहरु भटिए ।त्यस्तै थुनेलो रोगका बारेमा प्रारम्भिक परीक्षण पनि गरिएकोमा स्थानीय भन्दा उन्नत जाँतका पशुवस्तुमा बढी थुनेलो संक्रमण भएको पाइएको आयोजक कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा।प्रेनिल केसीले बताए ।

जीवाणु, विषाणु, ढुसी तथा पशुवस्तुको उचित व्यवस्थापन नगर्दा थुनेलोको संक्रमण बढ्दै गएको पनि उनले स्पष्ट पारे । त्यस्तै माटोमा हुने अम्लिय तथा छारिए पनका कारण वाली लगाउन किसानलाई समस्या भइरहेको किसानले दुखेसो राखे । शिविरमा निर्देशक डा।केसीको नेतृत्वमा पशुतर्फ भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक डा। अनन्त कोइराला, सो संस्थाका प्राविधिक सहायक माधवप्रसाद आचार्य, निर्देशनालयका डा। विवेक जिसी तथा प्राविधिक सहायक रामजी पौडेलले सेवा दिए ।

त्यस्तै वालीतर्फ वाली संरक्षण प्रयोगशाला कास्कीका कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत शालिकग्राम अधिकारी, बाली रोगविज्ञ वशिष्ट आचार्य लगायतले जाँच गरे ।त्यस्तै शिविरमा वैज्ञानिक रमेश आचार्य तथा प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले पनि सहजीकरण गरे । शुक्रवारसम्म ३० हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा १ हजार ८ सय १९ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

उनले हालसम्म २० लाख बढीको आलु कारोवार भएको पनि बताए। महोत्सव अन्तर्गत शुक्रवार विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहे ।त्यस्तै शनिवार नयाँवर्षको दिन बद्री पंगेनी, लक्ष्मी नेपाली, कमला ग्रह्े, टेक क्षत्री, शिवहरी ढुङगाना, हास्यतर्फ राजा राजेन्द्र एवम् पप कन्सर्टतर्फ सन्तोष बस्यालका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ । त्यस्तै महोत्सवमा रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।

रत्यौलीतर्फ शुक्रवार तिब्रेकोट, सिर्जनशील, चापाघाट र देउराली आमा समूहले प्रस्तति राखे । महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी शुक्रवारसम्म करिव रु।२ करोडको कारोवार भएको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिए ।

  • ३० चैत्र २०८०, शुक्रबार १९:५९ प्रकाशित