विन्ध्यवासिनी बसपार्कमा अनधिकृत टहरा बनाउन वडाध्यक्षकै साथ !

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा रहेको विन्ध्यवासिनी (पुरानो वागलुङ) बसपार्क भित्रको ट्रयाकमा अनधिकृत रुपमा विभिन्न यातायत व्यवसायी सम्बद्ध कम्पनीले टहरा निर्माण गरेका छन् । वडाध्यक्ष दिवशमान प्रधानांगकै अनुमतिमा ती टहराहरु निर्माण भएका हुन् । उपत्यका नगरविकास समितिको स्वामित्वमा रहेको उक्त बसपार्कमा यसरी टहरा निर्माण हुँदा यातायात व्यवसायीहरुले समेत विरोध गरेका छन् ।

यस क्षेत्रकै सबैभन्दा ठूलो यात्रुबाहक बस सेवा सञ्चालन गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले यसको विरोधमा महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार महानगरलाई बुझाइएको ध्यानाकर्षण पत्रमा ‘पर्यटकीय राजधानी पोखराको बसपार्कलाई आधुनिक र व्यवस्थित गराइनुपर्नेमा टहरा बनाउन दिएर के गर्न खोजिएको हो ?’ भन्दै तत्काल ती टहरा हटाउन आग्रह गरिएको छ । यदि नहटाइएमा आफूहरुले पनि बाहिर भाडा तिरेर राखिएका टिकट काउण्टर बसपार्क भित्रै त्यसरी नै सार्ने चेतावनी समेत दिइएको छ ।

ध्यानकर्षण बुझाउने क्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले अबैध टहरा बनाएर टिकट काउण्टर राख्ने काम तुरुन्त रोक्नुपर्ने बताए । ‘नभए आरु सबै व्यवसायी कम्पनीलाई बसपार्क भित्र नै टहरा बनाएर टिकट काउण्टर राख्न दिए के हुन्छ ? बाहिर किन हामीले भाडा तिर्नुपर्यो सबैले त्यहीँ बनाए भइगयो नी ।’ उनले भने, ‘पर्यटकीय राजधानी पोखराको बसपार्कमा जसले जे मनलाग्यो त्यहि गर्ने छुट दिए सर्वजनिक जमिन र संरचना नै सकिने अवस्था आउन सक्छ ।’

ध्यानाकर्षण पत्र बुझ्दै महानगरका प्रमुख धनराज आचार्यले उक्त बसपार्कलाई पनि व्यवस्थित बसपार्कको रुपमा विकास गर्न डिपिआर तयार भएको र अब निर्माणको चरणमा लैजाँदै गरिएको जानकारी दिए । त्यहाँ कुनैपनि प्रकारका अबैध काम हुन नदिइने भन्दै उनले बुझेर समस्या सामाधान गर्ने जवाफ दिएका छन् ।

वडाध्यक्ष दिवशमान भन्छन्, ‘टिनको टहरा न हुन्, अप्ठ्यारो परे भत्काउन सकिन्छ’

यता वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानांगले विन्ध्यवासिनी बसपार्कमा पृथ्वी राजमार्ग, पोखरा बस, र लेखनाथका सवारी साधनले यात्रु नै नलैजाने गरेको बताए । उनले गाउँमा जीपलाई बसपार्कमा प्रवेश नदिइएको भन्दै उनीहरुका लागि आफूले काम गरेको दाबी गरे ।

टिनका टहराले अप्ठ्यारो पारे फाल्न सकिने उनले प्रतिक्रिया दिएका छन् । साथै कताबाट स्विकृति भन्दापनि बसपार्क व्यवस्थापन समितिले टहरा बनाउन दिएको र आफूले सहजिकरण गरेका उनले बताए ।

‘पृथ्वीले यात्रु ल्याएन । लेखनाथ चल्ने बस पनि त्यहाँ खाली खाली आयो । यहाँका व्यवसायीको व्यवसाय चल्नुपर्छ । गाउँ जाने जीपलाई त्यहाँ छिर्न नै नदिने अनि उनीहरुले नै गाउँबाट धेरै मानिस लिएर आउँछन् । उनीहरुलाई केही गर्नु परेन ? बनेका टिनका टहरा न हुन् । भोलि समस्या ल्यायो भने फाल्न सकिन्छ । बसपार्क छिट्टै बन्ने क्रममा छ । त्यतिबेला आफै फालिन्छन्’ उनले भने ।

  • ३० चैत्र २०८०, शुक्रबार १९:४५ प्रकाशित