पोखरा ।
वर्तमान सत्ता समिकरण बनेसंगै आफ्ना पूर्व सहकमी एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसंग नजिकिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी आलोचना सुरु गरेका छन् । नेकपा एमाले कास्की जिल्लाको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पदस्थापन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार माधव नेपाल र झलनाथ खनालको आलोचना गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले १५ वर्ष एमालेको नेतृत्व गरेका स्मरण गर्दै अध्यक्ष ओलीले माथि पुगिसकेपछि पनि महिले केही पाइन र यो चाहियो उ चाहियो भनेको टिप्पणी गरे । ‘कसैलाई पदमा पुगेपछि घमण्ड पलाउँदो रहेछ । माधव नेपालले पार्टीको १५ वर्ष नेतृत्व गरे । वरिष्ठ नेता बने । अनि मैले केही पाइन भने । मलाई यो चाहियो उ चाहियो भने ।’ उनले भने, ‘वरिष्ठ नेता भएपछि अध्यक्षको छेउमा बसेर यो चाहियो र उ चाहियो भन्ने होइन । अध्यक्षलाई उचित सल्लाह दिने हो ।’
उनले समाजवादीका अध्यक्ष नेपालको आलोचना सकेपछि ‘सत्ता समिकरणमा संगै रहेकाले धेरै बोल्न पनि भएको छैन’ भन्दै सम्मानित नेता खनाल तर्फ सोझिए । खनालले पार्टीमा १२ वर्ष नेतृत्व गरिसकेपछि माधव नेपालले जस्तै यो चाहियो उ चाहियो र मेरो भाग खोई भनेको उनले बताए । ‘अर्का नेता झलनाथ खनालले १२ वर्ष पार्टीको नेतृत्व गरे । मलाई पराजित गरेर अध्यक्ष बनेका खनालले पनि मैले पाइन भने । एउटा लेबलमा पुगेपछि यो र त्यो भनेर गुनासो गर्ने होइन । म अध्यक्ष छोडेपछि मैले यो चाहियो उ चाहियो भन्दिनँ । सकेको सल्लाह दिने हो । पार्टीको राम्रो गर्ने हो’ उनले भने ।
अध्यक्ष ओलीले झिंगाको सरापले डिंगा मर्दैन भनेजस्तै झिंगाले जति सराप गर्छ त्यति एमालेलाई फाइदा हुन्छ भन्दै नेपाल– खनाल माथि व्यंग्य गरे । ‘झिंगाको सरापले डिंगा मर्दैन भन्छन् नि । झिंगाहरु एमालेलाई सरापि राख्याछन् । एमालेलाई फाइदा भइराख्या छ’ उनले भने । एमाले विनाको नेपाल र केपी ओली विनाको एमाले भन्नेहरु प्रति दयामायाँ लागेको उनको टिप्पणी थियो । कसैले एमाले विनाको नेपाल भने, कठै मायाँ लाग्छ । कसैले केपी ओली बिनाको एमाले भने दया लाग्छ । केपी ओली नभइदिए के गथ्यौं उसो गथ्यौं भन्ने लाग्या होला । मैले पोहोर परार भन्ने गर्या थिएँ नी कपाल पलाउन लाग्यो, जुंगा कालाकाला हुन लागे भनेर । कपाल सबै झरेको थियो । अहिले पुरै पलाउन थालेको छ । जुंगा काला हुन लागेका छन् । अब २० वर्ष कसैले हल्लाउन सक्दैन ।’
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति भने ओली नरम देखिएका छन् । ‘प्रधानमन्त्री प्रचण्डले किन पहिले पार्टी एकता नै गरेर चुनाव लडे, आफूसंग गठबन्धन गरे । फेरि किन कांग्रेससंग गए र अहिले फेरी समिकरण बनाए भन्ने विषयमा म केही बोल्दिन । भन्न मिल्दैन’ उनले भने । उनले मित्र सधैं मित्र र सत्रु सधैं सत्रु नहुने पनि टिप्पणी गरे ।