भारतको महाराष्ट्रमा कपडा पसलमा आगलागी, एकै परिवारका ७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

नयाँ दिल्ली ।

भारतको महाराष्ट्रको संभाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एक कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ।

आगलागीमा माथिल्लो तलामा बस्ने एकै परिवारका सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन्। बुधबार बिहान ३ बजे आगलागी भएको हो।

आगलागी भएको क्षेत्रमा धुवाँको ठूलो मुस्लो निस्किएको छ। आगलागी हुँदा मानिसहरु माथिल्लो तलामा सुतिरहेकाले उनीहरु तल झर्ने मौका पनि नपाएको उल्लेख गरिएको छ । जसका कारण सातै जनाको निसास्सिएर ज्यान गएको हो। आगलागीको जानकारी पाउनासाथ दमकलको गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।

आगलागी भएको भवनमा जम्मा १६ जना थिए। पहिलो तल्लामा ७ जना, दोस्रो तल्लामा ७ जना र तेस्रो तल्लामा २ जना थिए।

पहिलो तल्लामा रहेका सबैको ज्यान गएको छ। आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन।

  • २१ चैत्र २०८०, बुधबार १०:५६ प्रकाशित