७ करोड लगानीमा आटिघर रिसोर्ट सञ्चालनमा

फागुन ५ गते सांगेतिक कार्यक्रमका साथमा उदघाटन हुने

केन्द्रभाग मिडिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० मौजामा आटिघर भिलेज जंगल रिसोर्ट फागुन ५ गते सांगेतिक कार्यक्रम सहित उदघाटन हुने भएको छ । जग्गाबाहेक ७ करोड लगानी रहेको उक्त रिसोर्ट ३२ रोपनी जग्गामा अवस्थित छ ।

उदघाटनका दिन इन्द्रेणी साँझ समेत गरिने आज आयोजित पत्रकार सम्मेलनमा रिसोर्टका सञ्चालक सरोज गुरुङले जानकारी दिए । ‘रिसोर्टमा अर्गानिक तथा लोकल खानाका परिकारलाई महत्व दिएका छौं । गाउँमा ६० घरधुरी छन्, त्यही उत्पादनको प्रयोग र स्थानीयको जीवनस्तर उकास्न पनि लोकल चिजलाई प्रयोग गर्नेछौं ।’ –गुरुङले भने । उनका अनुसार हाल रिसोर्टमा २५ जना कर्मचारी कार्यरत छन् ।

उदघाटनका दिन इन्द्रेणी साँझ राखिने सञ्चालक गुरुङले जानकारी दिए । उनका अनुसार १६ जनाको इन्द्रेणी टिम र पोखराका चर्चित कलाकारको प्रस्तुती रहनेछ । कृष्ण कंडेलसहितको इन्द्रेणी टिम, लोक गायक चोलेन्द्र पौडेल, लोक गायिका गंगा परियार, सबिना गुरुङ, नबु सुवेदी र इन्द्र गुरुङले आफ्नो प्रस्तुती राख्ने उनले जानकारी दिए ।

१५ वर्ष हङकङ बसेका गुरुङ गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनि ३ वर्ष अघि नेपाल आएका हुन् ।

  • २ फाल्गुन २०८०, बुधबार १६:२२ प्रकाशित