अभिनेता गौरव पहारीले गरे प्रेमिका श्रेयानीसँग विवाह

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडासँग विवाह गरेका छन् । जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार र आफन्तको सीमित उपस्थितिमा आइतबार यी दुईले लगनगाँठो कसेका हुन् ।

गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । उनीहरुको विवाह समारोहमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा, कलाकारहरु सुनिल थापा, विल्सनविक्रम राईलगायत उपस्थित थिए ।

श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् । यी दुई जना तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।पाका अभिनेता टीका पहारीका छोरा गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए । गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’मा लगानी पनि गरेका थिए ।

  • २१ माघ २०८०, आईतवार १६:४१ प्रकाशित