सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको छ : झलनाथ खनाल

केन्द्रभाग मिडिया

File Photo

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन् । गठबन्धनको संस्कृति बमोजिम कंग्रेस र माओवादी अगाडि नबढेको उनले आरोप लगाए ।

‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, असन्तुष्टि पोख्दै खनालले भने ।

आफूहरूको मतले कांग्रेस र माओवादी मोटाएको भन्दै ठूला पार्टीका गलत नीतिका कारण राष्ट्रिय सभामा उचित सिट नपाएको आरोप लगाए ।

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको काम, विधान मस्यौदा लगायत विषयमा छलफल भएको थियो ।

  • २ माघ २०८०, मंगलवार १४:३८ प्रकाशित