सहकारी ठगी प्रकरण

कास्कीका ५ वटा सहकारीका सञ्चालकसहित २३ जना पक्राउ, ६९ जना अझै फरार

कुन सहकारीका कति जना फरार, को-को पक्राउ परे ?

गोविन्द सुवेदी

पोखरा ।

कास्कीका पाँच वटा सहकारीका सञ्चालकसहित फरार रहेका ९२ जना मध्य हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या २३पुगेको हो । उनलाई बिहीबार सिन्धुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार गत ६ पुसमा पत्राचार गरिसकेको छ ।

सूर्यदर्शनसहित कास्कीका पाँच सहकारीमा रहेको सर्वसाधारण बचतकर्ताको २ अर्व, ८३ करोड, ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती सहकारीका सञ्चालक विरुद्ध ३ हजार ६०९ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।

सूर्यदर्शनसहित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले ठगी भएको भन्दै सञ्चालक र कर्मचारी विरुद्ध उजुरी दिएका हुन् ।

जसमा शिव शिखरका ११ जना , इमेजका १५ जना, सूर्य दर्शनका १९ जना, बलिदानीका १५ जना र मित्र मिलनका ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका मध्ये ६९ जना अझै पक्राउ पर्न सकेका सकेका छैनन् । कास्की प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार अरु सहकारीका फरार सूचीमा रहेका समेत केहीलाई इन्टरपोलको ‘डिफ्युजन नोटिस’का लागि पठाउन अध्ययन भइरहेको छ ।

कुन सहकारीका को-को पक्राउ परे ?

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पुर्जी जारी भएका मध्ये शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लिलानाथ गौतम, सदस्य अमिसराज भण्डारी र अर्का सदस्य पुस्कर मल्ल अदालतमा मुद्दा पेश भई पुर्पपक्षको लागि कारागार चलान भइसकेका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखासमिति संयोजक शक्ति किसान, लेखा समिति सदस्यहरु भुमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएकोमा २ जना पुर्पक्षको लागि कारागार थुनामा गएका छन् भने ४ जना धरौटीमा छुटेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । उनी पुर्पक्षको लागि कारगार थुनामा गएका छन् । विहीबार पक्राउ परेका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई जिल्ला अदालत कास्कीमा आजै पेश गरिने कास्की प्रहरीले जानकारी दिएको छ ।

बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषध्यक्ष सुवर्णमान नकर्मी सदस्य डिल्लीराम सिग्देल र लेखासमिति सदस्य सचिना थापा पक्राउ परेकोमा ३ जना पुर्पक्षको लागि कारागार थुनामा गएका छन् । दुइजना धरौटीमा छुटेका छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्याकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पक्राउ परेका छन् । त्यसैगरी सोही सहकारीको सेवा विस्तारका क्रममा घुस लिएको आरोपमा घुस लिएको आरोपमा सहकारी रजिष्टारको कार्याय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली बुधबार पक्राउ परेका छन् ।

  • १३ पुष २०८०, शुक्रबार १०:०० प्रकाशित