पोखरा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन रहर नभई बाध्यता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे । ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छु,’ देउवाले भने।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने उनले बताएका छन् । देउवाले गणतन्त्रको विकल्प नभएको बताएका हुन् । सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए ।
देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ,’ उनले भने ।
यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए। नेपाली कांग्रेस तनुहँले निर्माण गरेको त्यस भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरे ।













