सहकारी ठगी 

कास्कीका ५ सहकारीमा सर्वसाधारणको ३ अर्ब जोखिममा (विवरणसहित)

३६०९ जना बचतकर्ताको उजुरी, ९२ जना विरुद्ध पक्राउ पुर्जी, २१ जना पक्राउ

गोविन्द सुवेदी

पोखरा ।

कास्कीका ५ सहकारीमा बचतकर्ताले बचत गरेको झण्डै ३ अर्ब अर्थात २ अर्व, ८३ करोड, ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति सहकारीका सञ्चालक विरुद्ध ३ हजार ६०९ जना बचतकर्ताले कास्की प्रहरीमा उजुरी दिएका छन् ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले ठगी भएको भन्दै सञ्चालक र कर्मचारी विरुद्ध उजुरी दिएका हुन् ।

जसमा शिव शिखरका ११ जना विरुद्ध ११३९ जनाले, इमेजका १५ जना विरुद्ध ५२४ जनाले, सूर्य दर्शनका १९ जना विरुद्ध १०३४ जनाले, बलिदानीका १५ जना विरुद्ध १९८ जनाले र मित्र मिलनका ३२ जना विरुद्ध ७१४ जनाले उजुरी दिएका हुन् । ति सबै विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी भएका मध्ये शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लिलानाथ गौतम, सदस्य अमिसराज भण्डारी र अर्का सदस्य पुस्कर मल्ल अदालतमा मुद्दा पेश भई पुर्पपक्षको लागि कारागार चलान भइसकेका छन् । बाँकी फरारको सूचीमा छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी गरेर १५ जनालाई पक्राउ पुर्जी जारी भएको छ । जसमध्ये अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखासमिति संयोजक शक्ति किसान, लेखा समिति सदस्यहरु भुमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएकोमा २ जना पुर्पक्षको लागि कारागार थुनामा गएका छन् भने ४ जना धरौटीमा छुटेका छन् । बाँकी फरार छन् ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका १९ जनालाई पक्राउ पुर्जी जारी भएकामा कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । उनी पुर्पक्षको लागि कारगार थुनामा गएका छन् । बाँकी फरार छन् ।

बलिदानी बचत तथा ऋण सहकारी संस्थाका १५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकामा उक्त सहकारीका अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषध्यक्ष सुवर्णमान नकर्मी सदस्य डिल्लीराम सिग्देल र लेखासमिति सदस्य सचिना थापा पक्राउ परेकोमा ३ जना पुर्पक्षको लागि कारागार थुनामा गएका छन् । दुइजना धरौटीमा छुटेका छन् । बाँकी १० जना फरार छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र विभिन्नढंगले अपचलन गर्नेहरु समेत गरेर ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जसमध्य अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्याकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पक्राउ परेका छन् । बाँकी २७ जना फरार छन् । पक्राउ परेका उपर अनुसन्धान जारी रहेको र फरारको खोजी भइरहेको डिएसपी विकले जानकारी दिए ।

५ सहकारीको ठगी सम्बन्धी सम्पूर्ण विवरण हेर्न क्लिक गर्नुहोस्

  • ९ पुष २०८०, सोमबार १६:१३ प्रकाशित