पोखरा ।
नेपाली कांग्रेस गण्डकीको सम्मेलन भोलि पोखरामा हुँदैछ । भोलि हुने सम्मेलनको सबै तयारी पुरा भएको र सहभागी हुने प्रतिनिधि पोखरा आउने क्रम जारी रहेको कांग्रेस गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख रमेश पौडेलले जानकारी दिए ।
दुईदिनसम्म चल्ने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा प्रतिनिधिहरु पोखरा आउने क्रम सुरु भएको कांग्रेस गण्डकी प्रवत्तmा मधु बास्तोलाले जानकारी दिए ।
सहभागी प्रतिनिधिहरुलाई पोखराको लेकसाइडका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिका संयोजक अजित क्षेत्रीले बताए ।
पोखरा सभागृहमा ३ मा सम्मेलनको उद्घाटन सत्र हुने र ४ मा बन्द सत्र पोखरा पार्टी प्यालेस, बास्तोलाथरमा हुने कांग्रेस गण्डकीले जानकारी दिएको छ । सम्मेलनमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र पेश गर्नेछन् भने महामन्त्री किरणबाबुु श्रेष्ठले संगठन प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।
उक्त प्रतिवेदनहरु सम्मेलन उद्घाटन पूर्व बिहान बस्ने कार्यसमिति बैठकले अनुमोदन गरेपछि औपचारिक रुपमा सम्मेलनमा लगिने महामन्त्री लामिछानेले जानकारी दिए। सम्मेलनले पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने भन्दै पार्टीलाई सशक्त र गतिशिल बनाउन बल पुग्ने सभापति शर्माले बताए ।













