कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो १२ः१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए । ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नेसहित गठबन्धन र सिट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने ।

पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुनेछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ । महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचन पछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ । शुक्रबारको बैठकले त्यसबारे समेत टुङ्गो लगाउने नेताहरूले बताएका छन् ।

  • २९ मंसिर २०८०, शुक्रबार ०९:०२ प्रकाशित