पोखरा ।
गण्डकीका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एसियाकै ठुलो दाबी गरिएको मनाङ स्थित मनाङ एग्रोले किर्ते कागज बनाई कम्पनी दर्ता गरेको आरोप लगाएका छन् ।
पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सांसद गुरुङले सो आरोप लगाएका हुन् । गैरकानुनी कागजात बनाएर दर्ता भएको एग्रोले राज्यका विभिन्न संयन्त्रहरुबाट वर्षै पिच्छे करोडौं रुपैंयाँ अनुदान समेत लिएको गुरुङले बताए । संस्थाको बारेमा राम्रो अध्ययन नै नगरि अनुदान बाँडेको भन्दै अनुदानदाताप्रति गम्भिर प्रश्न खडा भएको उनको भनाई छ ।
‘संस्था कसरी दर्ता भयो, ठिक रूपले सञ्चालनमा छ कि छैन, कागजपत्र ठिक छन् कि छैनन् भन्ने कुराको हेक्का नै नराखी अनुदान बाँडिनु राम्रो होइन ।एसिया कै ठुलो फर्म भनेर चर्चा चलाएकै भरमा पहुँचका आधारमा अनुदान बाँड्नुले पनि अनुदान दाता प्रति गम्भीर प्रश्न खडा गरेको छ,’अघि भने, ‘एग्रो यस कम्पनी आसपासका क्षेत्र राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको निगरानीमा छन् । सबै डकुमेन्ट फेक छ । तत्काल छानबिन होस् ।’
‘हिमाली प्रोजेक्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, स्याउ विशेष कार्यक्रम, फलफूल बिस्तार जस्ता धेरै शीर्षकबाट केन्द्र देखि स्थानीय तहबाट करोडौं रुपैयाँ अनुदान लिइसकेको छ,’उनले भने, ‘बैङ्क बाट पनि करोडौं रुपैयाँ सहुलियत ऋण लिएको देखिन्छ । यसरी हेर्दा अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि भएको छ ।’
यस्तै एग्रोले वन फडानी सहित सार्वजनिक जग्गा मिचेको आरोप लगाएका छन् । उनले सार्वजनिक जग्गा मिचेर एउटै व्यक्तिले हालीमुहाली गरेको आरोप लगाए । उक्त एग्रो फार्म पूर्व सांसद पोल्देन छोपाङको हो । कम्पनी २०७० साल ज्येष्ठ २३ गते दर्ता भएर सञ्चालनमा छ ।
मनाङ प्रालिले ७ सय ३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको उनको आरोप छ ।
उनका अनुसार फार्मले करिब ८० रोपनी जग्गामा अवैध रुखहरू फडानी गरेको छ ।












