पहिचानसहित स्वायत्त प्रदेश घोषणा नहुँदासम्म संघर्ष गर्ने तमु युवा ह्यूल छोँज धीँको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

तमु युवा ह्यूल छोँज धीँले पहिचानसहित स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने घोषणा गरेको छ । तमु युवा ह्यूल छोँज धीँको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले गण्डकी प्रदेशलाई तमुवान प्रदेश बनाउनेसहित १५ बुँदे ईलाम घोषणा पत्र–२०८० जारी गरेको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।  तमु युवा ह्यूल छोँज धीँका अध्यक्ष तोरण गुरुङले पहिचानसहितको स्वायत्त प्रदेश नभएसम्म संघर्ष जारी राख्ने बताए।

तमु युवा ह्यूल छोँज धीँले प्रशासनिक एकाईहरुको नाम पुनः तमु भाषामा राख्नपनि माग गरेको छ । त्यसबाहेक गाउँ, स्थान, नवी–खोला, ताल तलैयाहरुको नामपनि तमु भाषामै राख्न उसले माग गरेको छ । ‘तमुवान क्षेत्रमा पहिलेपहिले गाउँ, स्थान, नवी–खोला, ताल तलैयाहरुको नाम तमु जातिको भाषामा थिए तर पछि खसकरणहुँदै लोप भएकाले पुनः ती गाउँ, स्थान, नवी–खोला, ताल तलैयाहरुको नाम पुनः तमु भाषामा नामाङ्करण गरी तुरुन्त लागू नगर्दासम्म दवाबमूलक संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने संकल्प गरेका छौं’घोषणापत्रमा भनिएको छ ।

तमु युवा ह्यूल छोँज धीँले तमु जातिको बाहुल्य भएको स्थानिय तहमा तमु मातृ भाषाको पाठ्यक्रम निर्माण गरी अध्ययन÷अध्यापन गराउन तथा सरकारी कामकाजको भाषामा तमु भाषा लागू गर्नसमेत माग गरेको छ । अन्यथा दवाबमूलक कार्यक्रम सञ्चालन गर्ने तमु युवा ह्यूल छोँज धीँका अध्यक्ष तोरण गुरुङले बताए ।

तमु युवा ह्यूल छोँज धीँले बृटिस साम्राज्यवादको उपनिवेशबाट नेपाललाई जोगाउन लडेका शिकारी सरदार बंशु गुरुङलाई राष्ट्रिय विभूती घोषणा गर्नका लागिपनि राज्यलाई दवाब दिने जनाएको छ । उसले तमु समुदाय माथि हुँदै आएका विभेद, शोषण, असमानता र ऐतिहासिक अन्यायबिरुद्ध लड्नेपनि प्रतिबद्धता जनाएको अध्यक्ष गुरुङले बताए ।

  • २७ मंसिर २०८०, बुधबार १६:१६ प्रकाशित