पोखरा ।
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ गण्डकी सल्लाहकार दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । शनिबार युआरएलको १० औं वार्षिकोत्सवका अवसरमा श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, यूआरएल फाउण्डेसनका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले नगद ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरे ।
यस्तै सोही अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै प्राडा. बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
अवार्डबाट सम्मानित प्राडा. थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई काम गरिसकेका छन् ।
यसअघि प्रादेशिक स्तरमा पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएकामा यसपटकदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गरेको हो ।
यसअघि,स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्वारा गठित प्रतिभा छनोट समितिको उनीहरुको नाम छनौट गरेको थियो ।
गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।













